वैशाख २६ खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना गरिएको छ । जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सहजरुपमा उपलब्ध गराउने उद्देश्यले तत्कालका लागि पाँच शय्याको नगर अस्पताल स्थापना गरिएको हो ।
जालपाका स्थानीयबासीहरुले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो ।
जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएको चारवटा भवन, क्यान्टिन, सौचालय लगायतका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले बताउनुभयो । जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवा समेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभएको छ ।
जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समिति जालपाले नगरपालिकालाई रु ३ करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबार नगर अस्पताल बनाएर उद्घाटन गरिएको हो ।
जनसेवा सामुदायिक अस्पतालले उपलब्ध गराएको भौतिक संरचना तथा उपकरण उपयोग गरेर स्थापना गरिएको नगर अस्पताललाई क्रमशः स्तरोन्नति गर्दै १५ शय्या अस्पतालको रुपमा बिकास गर्ने योजना साथ नगर अस्पताल सञ्चालनमा ल्याइएको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।
उहाँले भन्नुभयो, “नगर अस्पतालमा बहिरङ सेवा, भिडियो एक्स–रे, ल्याव परीक्षण, प्रसुति सेवा लगायत अन्य सरकारी अस्पतालमा प्रदान गर्ने सम्पूर्ण सेवा उपलब्ध हुनेछ । यसले स्थानीय बासिन्दालाई सहज हुने अपेक्षा गरेका छौँ ।”
कार्यक्रममा नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदानसमेत गरिएको थियो ।
पूर्व सांसद एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राई, मेयर तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा पानसमा बत्ती बालेर अस्पतालको उद्घाटन गर्नुभएको थियो । जालपामा स्थापना गरिएको नगर अस्पतालमा दिक्तेल रुपाकेट मझुवागढी नगरपालिकासँगै केपिलासगढी, रावाबेँसी र ऐसेलुखर्क गाउँपालिकाका स्थानीय बासिन्दाले सेवा लिने वडा अध्यक्ष दान बहादुर राईले जानकारी दिनुभएको छ ।