बिर्तामोड । नेकपा एमाले झापाको १० औं जिल्ला अधिवेशनको दोस्रो दिन आज समूहहरुले गरेको छलफलको निष्कर्ष सुनाइने छ । पहिलो दिन प्रस्तुत गरिएको प्रतिवेदन उपर समूहगत छलफल भएको थियो । सो समूहका टोली नेताले आज पहिलो चरणमै निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ ।

बन्दसत्रमा अध्यक्ष चिन्तन पाठकले राजनीतिक तथा संगाठनिक प्रतिवेदन र कार्यालय सचिव शिव ढुङ्गेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टोली नेताले आज १० बजेदेखि शुरु हुने बन्दसत्रमा छलफलको निष्कर्ष सुनाउने कार्यक्रम रहेको छ । प्रतिवेदन पारित गरेपछि निर्वाचन प्रक्रिया शुरु हुने अध्यक्ष मण्डलले जनाएको छ ।

निर्वाचन प्रक्रिया प्रारम्भ भएपछि उम्मेद्वारी दर्ता लगायतका काम हुने कार्यालय सचिव ढुङ्गेलले जानकारी दिए । उनका अनुसार सर्वसम्मत भएमा आज नै नेतृत्व चयन हुने छ ।

यस्तै, बन्दसत्रले संगठनात्मक संरचना पारित गरेको छ । पारित गरिएको संरचना अनुसार १५० सदस्यीय जिल्ला कमिटी बन्ने छ । ९ वटा पालिका कचनकवल, गौरीगञ्ज, कमल, बुद्धशान्ति, हल्दिवारी, बाह्रदशी, झापा, कनकाई र भद्रपुरले ३÷३ जना सदस्य पाउने भएका छन् । त्यसमा १ महिला अनिवार्य गरिएको छ ।

शिवसताक्षी, दमक, बिर्तामोड, अर्जुनधारा, मेचीनगर र गौरादहले ४÷४ जना सदस्य पाउने छन् । त्यसमा २ जना महिला अनिवार्य गर्नुपर्ने व्यवस्था गरिएको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा १ जनाका दरले ५ जना र प्रदेश सभा निर्वाचन क्षेत्रमा २ जनाका दरले २० जना सदस्य बन्न पाउने भएका छन् ।

यस्तै, दलित समुदायको प्रतिनिधि हुने गरी ७ जना, आदिवासी जनजाति ९, श्रमिक ५, मधेशी २, सिमान्तकृत ३, मुस्लिम १, व्यवसायी २, युवा विधार्थी खेलकुद्बाट २, पेशागत २, सञ्चारकर्मी, अपांग, सुकुम्बासी, सांस्कृतिकर्मी, गैसस, सहकारी क्षेत्रलाई १-१ जना सदस्य दिइनेछ । कानुन व्यवसायी, चिकित्सक, इञ्जिनियर र प्राध्यापकबाट जम्मा २ जना सदस्य बनाइने बन्दसत्रले पारित गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर