असार ८, काठमाडौँ । सर्पदंशका घटना सबैभन्दा बढी हुने वर्षाको मौसममा देशभर सर्पदंशको भ्याक्सिन  एन्टिस्नेक भेनमको अभाव भएको छ। अत्यावश्यक जीवनरक्षक औषधिको रुपमा मानिने एन्टिस्नेक भेनम अभावका सर्पदंशको कारण तराईका क्षेत्रसहित देशभर समस्या भएको छ।

सरकार भने सर्पदंशको उपचारका लागि आवश्यक एन्टिस्नेक भेनमको अभाव नरहेको दाबी गरिरहेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सह–प्रवक्ता तथा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीरकुमार अधिकारले सर्पदंशविरुद्धको भ्याक्सिनको उपलब्धतामा चुनौती नरहेको दाबी गरे। उनले भ्याक्सिन आपूर्तिको लागि सम्झौता सम्पन्न भई सप्लायर्सहरूलाई भ्याक्सिन आपूर्ति गर्न भनिसकिएको बताए। उनले रेबिज र सर्पदंशविरुद्धका भ्याक्सिनहरु पाइपलाइनमा रहेको भन्दै अगामी आर्थिक वर्षमा आपूर्ति समस्या नहुने दाबी गरे।

उनले भने, ‘सर्पदंश उपचारका लागि आवश्यक पर्ने सर्पदंश सम्बन्धी जुन भ्याक्सिन छ, त्यो भ्याक्सिनको उपलब्धतामा पनि धेरै ठूलो चुनौतीहरू छैनन्। यसमा पनि विश्वव्यापी बजारमा आएको मूल्य वृद्धि, मुद्रास्फीति सबैसँग जोडिएका विषयहरू रहने भए, यसमा चाहिँ अब यो हामीले विगतमा समयमै टेन्डर गरेर उपलब्ध हुन अलिकति गाह्रो भएको अवस्थामा अहिले टेन्डर भएर टेन्डर पनि फाइनल भएर सम्झौताका लागि जसले सप्लाई गर्नुहुन्छ, उहाँहरूलाई समन्वय गरेर उपलब्ध गराउनका लागि भनिसकिएको छ।’

उनले थपे, ‘१३ हजार २ सय भायल जति चाहिँ आउने पाइपलाइनमा छ, त्यो अगाडि बढ्छ। अहिले पनि हामीसँग स्टोरहरूमा शून्य नै भएको अवस्था होइन। हामी कहाँ एन्टीरेबिज भ्याक्सिनहरू पनि केही मात्रामा छन् र आउने पाइपलाइनमा अहिले हिजो मात्रै पनि आएर अगाडि बढेको अवस्था छ भने एन्टिस्नेक भेनमको हकमा पनि सर्पदंश भइसकेपछि लगाउने जुन खोप छ, त्यो खोप त्यो औषधि पनि हामीसँग उपलब्ध छ। विभिन्न सर्पदंश उपचार गर्ने केन्द्रहरूमा पनि उपलब्ध रहेको छ।’

डा. अधिकारले एन्टीरेबिज भ्याक्सिनलगायत अत्यावश्यक औषधिको आपूर्तिमा समस्या देखिएपछि सरकारले सार्वजनिक खरिद प्रक्रियालाई सहज बनाउन कानुनी व्यवस्था परिमार्जनको काम सुरु गरेको बताए। मनसुनको समयमा विशेषगरी तराई–मधेसका जिल्लाहरुमा सर्पदंशका घटनाबाट वर्षेनी सयौँ नागरिकले अकालमै ज्यान गुमाउने गरेका छन्। यही गम्भीर्यतालाई मध्यनजर गरी सरकारले अगामी आर्थिक वर्षमा भ्याक्सिनको अभाव हुन नदिने गरी कार्य गरिरहेको अधिकारीको भनाइ छ।

समाचार नेपालखबरबाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

?>