झापा — कृषिलाई अर्थतन्त्रको मेरुदण्ड मानिएको छ । तर, यस क्षेत्रको अवस्था दयनीय छ । जग्गाको ठूलो हिस्सा कृषि भूमिका रूपमा प्रयोग हुन सकेको छैन । कतै सिँचाईको अभाब समस्याका रुपमा देखापरिरहेको छ भने कतै आधुनिक प्रबिधिलाई आत्मसाथ गर्न नसक्दा समस्या देखिन्छ । अर्कोतिर कृषि भूमिको परिमाण घट्दै गइरहेको छ भने यसमा निर्भर जनसंख्या संकटमा देखिन्छन् ।

सरकारी तथ्याङ्क अनुसार करिब ३१ लाख हेक्टर जमिन खेती गर्नका लागि लायक छ । झण्डै ६० लाख हेक्टर भूमि वन क्षेत्र भित्रै पर्दछ । नेपालमा साढे ५ हजारभन्दा बढी नदी नाला र करिब सयवटा ठूला नदी छन् । तर, कुल जनसंख्याको ६६ प्रतिशत कृषिमा निर्भर मुलुक नेपालमा सिँचाइ ठूलो समस्याको रूपमा रहि आएको छ ।

सिँचाइ विभागसँग मुलुकको कुल खेतीयोग्य ३० लाख ९१ हजार हेक्टरमध्ये १३ लाख ९९ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको तथ्यांक छ । तर, कृषि विज्ञहरू कुल खेतीयोग्य जमिनको २० प्रतिशत अर्थात ६ लाख हेक्टर जतिमा मात्र सिँचाइ पुगेको बताउँछन् । सिँचाईकै समस्याका कारण किसानहरुले भनेजस्तो उत्पादन लिन नसकिरहेका गुनाशो गर्छन झापा कमल गाउँपालिकाका किसान लोकनाथ भण्डारी । उनि भन्छन्, “खेती गर्ने बेला भयो भने आकाशे पानीकै भर नपरी सुखै छैन । ”

कृषिभित्र वनस्पतिलाई जोडेर, यसलाई व्यवस्थित गर्न सक्ने हो भने धेरै अगाडि बढ्न सकिने तर्क छ अर्का किसान सन्तनाथ बाँनियाको । “हामीसँग भएका श्रोत साधनकैपनि हामीले अझैपनि उपयोग गर्न नसकिरहेको अवस्था छ । यसलाई व्यवस्थित ढङ्गले उपयोग गर्न जान्ने हो भने हामी कहाँ सबथोक छ ।” उनले भने ।

सरकारी तथ्यांकले नेपालको ६६ प्रतिशत जनसंख्या कृषिमा निर्भर रहेको देखाउछ । तर तिनै कृषिमा निर्भर किसानहरु कृषिबाट सन्तुष्ट बन्न सकिरहेको अवस्था छैन । “मरिमरि खेती गर्यो बर्षदिन खाने अन्नपनि उत्पादन गर्न धौ धौ हुन्छ । घर खर्च कहाँबाट चलाउने, छोराछोरीलाई कसरी पढाउने ?” झापा कमल गाउँपालिकाकी किसान लक्ष्मी श्रेष्ठ गुनाशो पोख्छिन् ।

अझ, जग्गाको चक्लाबन्दीका कारण संयौं हेक्टर जमिन बाझै राख्नुपर्ने बाध्यताप्रति कृषकहरुको चिन्ता उस्तै छ । “भएका खेती योग्य जमिनपनि प्लटिङ गरेर सिध्याउदैछन् । यस्तै हो भने कुनै दिन नेपालमा भोकमरी नलाग्ला भन्न सकिन्न । ” धान गोड्दै गरेका किसान डिल्लीराम घिमिरेले भने ।

खेतीका समयमा मल र बिउको अभाब झेल्नुपर्ने, सिँचाईको अभाब र परम्परागत उपकरणहरुनै अहिलेका कृषकका सारथी बनिरहेको शन्दर्भमा कृषिमा कसरी आमुल परिवर्तन हुन्छ र ? झापा दमकमा कृषि क्षेत्रमा काम गरिरहेको सेतुमारी कृषि सहकारी संस्थाका व्यवस्थापक दिपक खनालको प्रश्न छ । उनी भन्छन्, आधुनिक तबरले खेती गर्ने हो भने हामी पक्कै सफल हुन्छौं, तर हामी कहाँ ज्ञान र सिपको पनि अभाब छ । यसलाई हरेक स्थानीय तहमा रहेका कृषि शाखालेपनि खासै महत्व नदिएको उनको गुनाशो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर