बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका क्षेत्रभित्र एक सय विगाभन्दा बढि चिया खेती फडानी गरिएको छ । चिया किसानले विभिन्न समस्या देखाउदैं चिया बगान फडानी गरेका छन् ।

चियामा ठुलो घाटा हुन थालेको भन्दै फडानी गरिएको किसानहरुले बताएका छन् । कतिपयले अन्य खेती गर्ने योजना बनाएका छन् भने कतिपयले जग्गा व्यापारको योजना अघि सारेका छन् ।

झापा बिर्तामोड– ७ का एलपी सिटौलाले २३ विगा जमिनमा लगाएको चिया बगान फडानी गरेका छन् । चिया खेतीमा नोक्सान मात्रै व्यहोर्नु परेको भन्दै उनले चिया बगान फडानी गरेका हुन् । २३ विगाको हरियाली चिया बगान यतिबेला उजाड बनेको छ ।

०५१-५२ सालतिर सिटौला परिवारले चिया खेती सुरु गरेको थियो । धान खेतीभन्दा चियामा फाइदा हुने आशामा सुरु गरिएको चिया बगान घाटा सहन नसकेर मास्नु परेको छ । चिया मासेर छोडेको जमिनमा तत्काल एक विगामा खरबुजा खेती गर्ने सोच बनाएको सिटौलाले बताए । बाँकी जमिनमा तरकारी र फलफुल खेती गर्ने उनीहरुको योजना छ । तरकारी र फलफुलका लागि जग्गा भाडामा लिन चहानेहरुका लागि भाडामा पनि दिने सोच भएको सिटौलाले जानकारी दिए । चिया मासिएको जमिनमा सरकारको तर्फबाट कुनै संरचना निर्माण गर्ने भए निशुल्क जग्गा समेत सहयोग गर्ने बताए । तर, योजना तत्काल कार्यान्वयन हुने प्रकृतिको हुनुपर्नेछ ।

चिया खेती सुरु गरेको वर्ष हरियो चिया प्रति केजी १६÷१७ रुपैयाँ थियो, सिटौलाले भने – अहिले १८ रुपैयाँ प्रति केजीमा विक्रि गर्नुपरेको छ । तपाई आफै भन्नुहोस्, कति फाइदा होला ? धेरै घाटा हुन थालेपछि केहि वर्षदेखि चिया मास्ने योजना थियो, उनले भने, ‘मास्ने भन्दाभन्दै ढिलो पो भयो ।’

चिया सुरु गर्दा ७५ रुपैयाँमा श्रमिक पाइने गरेको थियो । अहिले ३ सयको हाराहारीमा ज्याला पुगेको छ । उनीहरुले आफ्नो बगानमा काम गर्नेहरुलाई प्रति केजी ५÷६ रुपैयाँको दरले ज्याला दिदैं आएका थिए ।

आर्थिक रुपमा फाइदा नहुनु, मजदुरको अभाव हुनु र जमिन पनि अनुत्पादक भई ओगट्ने मात्रै काम भएकाले चिया मासेको एलपीको भनाई छ । स्थानीय तहसँग समन्वय भयो कि भएन भन्ने जिज्ञासामा उनले थपे – मेरो जग्गा, मेरो चिया बगान । मैले अनुमति लिइ रहनुपर्छ जस्तो लागेन । आफ्नै खुशीले चिया बगान हटाएको छु ।

सधैंको मल अभाव, फ्याक्ट्रीहरुको अस्वस्थ्य प्रतिष्पर्धाले चिया किसान धेरै मार्कामा परेको उनको भनाई छ । त्यो बेला २÷३ सयमा पाइने मल खाद्य अहिले २५ सय पर्छ । धान्नै नसक्ने अवस्था आएपछि चिया मासेका हौं, उनले भने ।
यस्तै, रञ्जनराज प्रसाईले चार जना दाजुभाईको संयुक्त १० विगा क्षेत्रफलमा भएको चिया फडानी गरेका छन् । सो क्षेत्रमा अब धान खेती गर्ने योजना रहेको सुनाए । कृषिमा कसैको आकर्षण नै छैन, रञ्जनराज भन्छन् – ‘सधैं कृषिमा समस्या छ, आकर्षण नभएपछि हटाउने निर्णयमा पुगेका हौं ।’ परिवारको सल्लाहमा चिया बगान नष्ट गरेको उनले स्वीकार गरेका छन् । मलविउमा सधैं समस्या हुने, सरकारले पनि कृषिलाई प्राथमिकतामा नराख्ने भएपछि चियालाई फडानी गरिएको उनको भनाई छ । मुख्य कारण भनेको चै घाटा नै हो, उनले भने ।

सोही वडामा डा. भिष्मराज प्रसाईले १६ विगामा लगाएको चिया गत वर्ष देखि फडानी गर्दै आएका थिए । यो वर्ष ६ विगामा रहेको चिया पनि फडानी गरेर सकेका छन् । चतुर प्रसाईले करिव ८ विगाको चिया फडानी गरे । अरुण भट्टराईले ९÷१० विगामा भएको चिया बगान फडानी गरेका छन् । भरत डम्बर विमलीले ८, युवराज विमलीले १२ विगामा लगाएको चिया फडानी गरेर सकेका छन् ।

लुवराज प्रसाईले ७, हरि न्यौपानेले ६,रन्जित प्रसाई र राजन शिवाकोटीले ४-४ विगामा लगाएको चिया पूर्ण रुपमा फडानी गरेका छन् । कतिपयले जग्गा विक्रिका लागि गत वर्षदेखि फडानी गर्दै आएका थिए भने कतिपयले यो फडानी गरेर सकेका छन् ।

वडा नं. ६ मा गोपीकृष्ण प्रसाईले १५-१६ विगामा भएको चिया खेती पूर्ण रुपमा फाँडेका छन् । बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईले चिया फडानी गरेको विषयमा किसानहरुले कुनै जानकारी नगराएको बताएकी छन् । उनले भनिन्, चिया बगान फडानी गरिएको कुरा अनौपचारिक रुपमा सुने पनि किसानले यस बारे जानकारी गराएका छैनन् । सरकारले कृषियोग्य जमिनको संरक्षण गर्ने उद्देश्यले जग्गा वर्गीकरण गरिरहेको उनको भनाई छ । नगर प्रमुख प्रसाईले कृषि उत्पादन भइरहेको ठाउँ फडानी गर्नुभन्दा संरक्षण गर्नु उपयुक्त हुने बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर